Monday, August 2
Home>>विश्व/प्रवास>>अमेरिका निर्वाचन २०२० परिणाम: अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी
विश्व/प्रवाससमाचार

अमेरिका निर्वाचन २०२० परिणाम: अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी

अमेरिका ।
कडा प्रतिस्पर्धापछि अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेन विजयी भएका छन् ।

जितका लागि संसदमा २७० इलेक्टोरल कलेज भोट आवश्यक पर्नेमा बाइडेनले २९० भोट ल्याउँदै विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने २१४ भोट मात्रै ल्याए ।

निर्णायक राज्य मानिएको पेन्सिल्भेनियामा बाइडेन र कमला ह्यारिसले जितेसँगै सिएनएन, बीबीसी, एपी लगायत अन्तराष्ट्रिय मिडियाले डेमोक्रेट उम्मेदवारहरुले जितेको जनाएका हुन् । यद्यपी यसको आधिकारिक घोषणा हुन बाँकी छ ।

नोभेम्बर ३ मा सुरु भएको निर्वाचनको मतगणना भने नोभेम्बर ७ मा सम्पन्न भएको छ । मतगणनाको अन्तिम चरणसम्म आइपुग्दा पनि दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा चलेको थियो ।

ट्रम्प दोस्रो कार्यकाल चलाउन नपाउने अमेरिकाका थोरै राष्ट्रपति मध्येमा परेका छन् । सामान्यतः अमेरिकामा दुई कार्यकालसम्म राष्ट्रपति बन्ने चलन छ ।

यस्तै उपराष्ट्रपतिको रुपमा भने कमला ह्यारिस विजयी भएकी छिन् । उनी अमेरिकाको इतिहासमा पहिलो अस्वेत र भारतीय मूलकी महिला उपराष्ट्रपति हुन् ।


जो बाइडेनको यात्राः 

सन् १९७२ मा डेलवेरबाट सिनेटर निर्वाचित हुँदा जो बाइडेन केवल २९ वर्षका थिए । तत्कालीन अमेरिकी सिनेटका कान्छा सदस्यलाई ह्वाइट हाउसको ढोका खोल्न थप ४८ वर्ष लाग्यो । जतिबेला २० जनवरीमा राष्ट्रपतिको सपथ हुनेछ, त्यतिबेला बाइडेन ७८ वर्ष पुगिसकेका हुनेछन्  । अमेरिकी इतिहासमा बाइडेन जत्तिको पाको उमेरमा कोही पनि राष्ट्रपति निर्वाचित भएको छैन ।

कोरोना नियन्त्रणका लागि राष्ट्रव्यापी परीक्षण र ट्रेसिङ कार्यक्रम, रोजगारीमा न्युनतम आय बढाउने, साना उद्योगहरुलाई दिइने ऋण बिस्तार गर्ने, न्याय प्रणालीमा सुधार ल्याउने, अल्पसंख्यक समुदायका लागि व्यवसायमा सहयोग गर्ने, हरित उर्जामा लगानी बढाउने, पेरिस जलवायु सम्झौतामा पुनरागमन गर्ने, नाटो गठबन्धनलगायत मित्रशक्तिसँग बिग्रिएको सम्बन्ध सुधार्ने, ओबामा केयरलाई बिस्तार गर्ने, आप्रवासीहरुप्रति उदारता देखाउने लगायतका विषयलाई चुनावी मुद्दा बनाएका बाइडेनलाई अमेरिकी जनताहरुले इतिहासमै सबैभन्दा धेरै मत खसालेका छन् । (यद्यपि, अमेरिकी राष्ट्रपतिको चयन लोकप्रिय मत नभएर इलेक्टोरल कलेजका आधारमा हुन्छ र आवश्यक २ सय ७० इलेक्टोरल मत पुुर्याइसकेका बाइडेनले २ सय ९० देखि ३ सय ६ मत ल्याउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्रक्षेपण छ ।)

कुनै समय रंगभेद उन्मुलनविरुद्ध अदालतले दिएको आदेशविरुद्ध लडेका बाइडेन आज अफ्रो–अमेरिकी र रंगभेद विरोधीहरुकै नेता बनेका छन्, विभाजित अमेरिकालाई एकढिक्का  गर्ने उनको वाचा छ । कुनै समय उनी अस्थिर मानिन्थें, अहिले परिपक्व र धैर्यवान् मानिन्छन् । 


ती असफल प्रयास 
राष्ट्रपति बन्नका लागि उनले यसअघि नै दुुईपटक असफल प्रयास गरेका थिए – १९८८ को राष्ट्रपतिय निर्वाचनका लागि दाबी पेश गर्दा धेरैले उनलाई अन्य डेमोक्रेटको दाँजोमा फरक उम्मेदवार ठानेका थिए, उनको युवा जोश र भाषण कलाले धेरेलाई लोभ्याएको पनि थियो । तर, निर्वाचन अभियानताका बेलायती लेबर पार्टीका नेता निल किन्नकको भाषण बङ्ग्याएर आफ्नो जसरी पेश गरेको आरोप लागेपछि गल्ती स्वीकार्दै उनले उम्मेदवारी फिर्ता लिए । उनीविरुद्ध तीनवटा डिग्री लिएको भन्दै गलत प्रचार गरेको, कलेजको थेसिस चोरेकोलगायत आरोप पनि लागेका थिए । बाइडेनलाई दोस्रो पटक राष्ट्रपतिको दाबी पेश गर्न थप दुुई दशक लाग्यो । २००८ मा डेमोक्रेटिक पार्टीको आन्तरिक प्रतिस्पर्धामा उम्मेदवार रहेका बाइडेनले अन्तत ३ जनवरी २००८ मा उम्मेदवारी फिर्ता लिएर ओबामालाई समर्थन गरे ।

यसपछि ओबामा राष्ट्रपति र बाइडेन उपराष्ट्रपतिको उम्मेदवार बने । यस चुनावमा गोराहरुलाई ओबामातर्फ आकर्षित गराउन बाइडेनकोे भूमिका ठूलो थियो । पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको बुुझाईमा ‘अमेरिकाले पाएका उपराष्ट्रपतिमध्ये बाइडेन अहिलेसम्मकै उत्कृष्ट हुन् ।’ यस्तो टिप्पणी अस्वभाविक पनि होइन, किनकि ह्वाइट हाउसमा युवा ओवामालाई अनुुभवी बाइडेनले नै उपराष्ट्रपतिका रुपमा दरिलो साथ दिएका थिए ।

पटक–पटक सिनेटर भइसकेका बाइडेनसँग सिनेटको न्यायिक समिति र विदेश विभाग कमिटीको अध्यक्षता गरेको अनुुभव थियो भने ओबामासँग युवा जोश । एफोर्डेवल केयर एक्ट, आर्थिक मन्दीको समय ल्याइएको इन्सेन्टिभ प्याकेज र सुधार योजना, पेरिस जलवायु सम्झौता, ईरानसँगको आणविक सम्झौता लगायतमा बाइडेनको भूमिका पक्कै कम थिएन । ओबामासँगको घनिष्ट सम्बन्धका कारण पनि अफ्रो–अमेरिकी मतदातामाझ बाइडेन लोकप्रिय बने । उनी ओबामालाई आफ्ना ‘भाई’ भन्थें । 

ओबामा कार्यकालमै सिरिया द्वन्द्वमा अमेरिका फस्यो, दशौं लाख बिस्थापित भएको र लाखौंले ज्यान गुमाएको यस द्वन्द्वको घाउ अझै आलै छ । लिबियालगायत अन्य भूू–भागमा पनि अमेरिकी सैनिकले हस्तक्षेप गरे । त्यसैले, ओबामा कार्यकालको उपलब्धिका जस लिने बाइडेनलाई यस समय भएका गल्तीको अपजस पनि जान्छ । 

राजनीतिक इतिहास

सुरुवातमा बाइडेन पनि नश्लिय चिन्तनकै थिए । १९७० को दशकमा छालाको रंगका आधारमा विद्यार्थीहरुलाई स्कुल बसमा राख्ने व्यवस्था खारेज गर्न अदालतले आदेश दिएपछि त्यसको विरोध गरिरहेका दक्षिणी विभाजनकारीहरुको पक्षमा बाइडेन उभिएका थिए । बिस्तारै उनको परिचय फेरिदैं गयो ।

१९७२ मा पहिलोपटक डेलवेरबाट सिनेटर चुनिएका बाइडेन आफ्ना कमजोरीहरुकै कारण विगतमा विवादमा पनि तानिएका थिए । उनी १९९४ मा आएको अपराधविरोधी विधेयकको कडा समर्थक थिए, जबकी यस विधेयकले ठूलो र सामुहिक जेल सजायलाई प्रोत्साहन गरेको भन्दै उदारवादीहरुले विरोध गर्ने गर्छन् ।

अनिता हिल काण्ड 

बाइडेनलाई सबैभन्दा ठूलो विवादमा यही प्रकरणले तान्यो । १९९१ मा जतिबेला बाइडेन सिनेटको न्यायिक कमिटीको अध्यक्ष थिए, त्यतिबेला अनिता हिल प्रकरण मिडियामा छायो । तत्कालीन समयमा सिनेटमा डेमोक्रेटिक पार्टी बहुुमतमा थियो, तर देशमा राष्ट्रपति थिए रिपब्लिकन पार्टीका जर्ज एच डब्ल्युु बुस (सिनियर) । बुसले क्लेरेन्स थोमसलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गरेलगत्तै पुरातनवादी राजनीतिक सोचका थोमसविरुद्ध  महिलावादी र जनअधिकारवादी समूहहरुले विरोध प्रदर्शन थाले ।

त्यही क्रममा इक्वेल इम्प्लोइमेन्ट अपर्च्युनिटी कमिसनमा थोमसको सहायक रहेकी अनिता हिलसँग एफबिआईले गरेको गोप्य कुराकानी मिडियामा सार्वजनिक भयो, अनिताले थोमसमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । यी युवती त्यसअघि अमेरिकी शिक्षा विभागमा पनि थोमससँगै काम गर्थिन् । सिनेटमा थोमसको सुनुवाई सुरु भयो । न्यायिक कमिटीका अध्यक्ष बाइडेनका लागि यो ठूलो परीक्षा थियो । अनिता हिलले सिनेटमै उपस्थित भएर आफुमाथि कार्यस्थलमै यौन दुर्व्यवहार भएको बयान दिइन् ।

उनका अनुसार थोमसले पटक–पटक घुम्न जाने प्रस्ताव गरेका थिए । त्यसलाई अस्वीकार गरेपछि कार्यस्थलमै आएर पोर्न फिल्म र सेक्सका कुरा गर्थें, यो सुनुवाई टेलिभिजनमार्फत प्रशारण भएकाले धेरै अमेरिकीहरुले हेरेका थिए। न्यायिक प्यानलमा रहेका रिपब्लिकनका सदस्यहरुले अनिताको बयान झुुठो रहेको भन्दै त्यसलाई खारेज गर्न माग गरे, तर बाइडेनले अनिताको बचाऊ गर्न सकेनन् ।

उनकोे प्रस्तुति अस्थिर र कमजोर देखिएको भन्दै आलोचना भयो । सिनेटर अर्लेन स्पेक्टरले कार्यस्थलमा ‘ठूलो स्तन’ बारे चर्चा हुुनु सामान्य नै रहेको टिप्पणी गर्दा समेत बाइडेन निरीह थिए । सुनुवाईका बाबजुद पक्षमा ५२ र विपक्षमा ४८ मत आएपछि थोमसको नाम अनुमोदन भयो । जबकी, सिनेटमा विपक्षी डेमोक्रेटिकको बाहुल्यता थियो । बाइडेनले विपक्षमै मतदान गरेका थिए । 

आफ्नो आत्मकथामा अनिता हिलले बाइडेनको खरो आलोचना गरेकी छिन् ।  बाइडेनले २००८ मा यसबारे मुख खोलेका थिए । सिनेटको प्रक्रियाअनुसार सबै काम अघि बढेको र आफुले जनाजान अनितालाई समस्या नपारेको उनको स्पष्टोक्ति थियो । उनले यसका लागि अरु नै दोषी रहेको बताएका थिए । तर, २०१९ सम्म आइपुुग्दा बाइडेन अझै नरम भइसकेका थिए । ‘उनीसँग जस्तो व्यवहार भयो, त्यसबाट मलाई दुःख लागेको छ,’ बाइडेनले भने,‘तर, मैले के भनेको थिएँ र भनेको थिइँन भनेर तपाई हेर्नुस् । मलाई लाग्दैन मैले उनलाई गलत गरेँ ।’ यी रेकर्डहरुका कारण कहिलेकाँही बाइडेनलाई आधुनिक डेमोक्रेटिक पार्टीमा अप्ठ्यारो गरी फिट भएका व्यक्ति समेत भनिन्छ । 

व्यक्तिगत उतार–चढाव 

बाइडेनको जीवन व्यक्तिगत पीडाले भरिएको छ । १९७२ मा पहिलोपटक सिनेटमा निर्वाचित भएको छोटो समयमै उनकी श्रीमती निलिया र शिशु छोरीको कार दुर्घटनामा निधन भयो । साना छोराहरु बो र हन्टर भने यस दुर्घटनामा बाँच्न सफल भए । उनीहरुको उपचार भइरहेका बेला अस्पतालकै कोठाबाट बाइडेनले पहिलोपटक सिनेट सदस्यको सपथ लिएका थिए । 

२०१५ मा ब्रेन क्यान्सरका कारण ४६ वर्षको उमेरमा बोको निधन भयो । डेलोर राज्यको गर्भनरका लागि २०१६ मा चुनाव लड्ने मनसाय बनाइरहेका बोलाई अमेरिकी राजनीतिमा उदाउँदो ताराका रुपमा हेरिएको थियो । छोराको निधनपछि बाइडेनप्रति धेरै मानिसहरुले सद्भाव राखे, जसकारण उनी शोकलाई शक्तिमा बदल्न सफल भए । यद्यपि, कठिनाई थिएन भन्ने होइन ।

२०२० को चुनावी दौडमा सहभागी भएलगत्तै महिला भोटर्सहरुसँग यौन दुुर्व्यवहार गरेको आरोपमा उनी मुछिए । अन्तक्रियाका दौरान महिलाहरुलाई अप्ठ्यारो हुनेगरी शरीरमा छोएको आरोप उनीमाथि लागेको थियो, यस आरोपलाई पुष्टि गर्ने विभिन्न भिडियो फुटेज पनि थिए । यद्यपि, सामाजिक मान्यताहरु परिवर्तन हुनका बाबजुद आफु भावनारहित व्यक्ति नभएको प्रतिक्रिया यी उदार राजनीतिज्ञले दिए ।


अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति, को हुन् कमला ह्यारिस ?

अमेरिकाको इतिहासमा पहिलो पटक महिला उपराष्ट्रपति बनेकी छन् कमला ह्यारिस । राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार जो बाइडनले उपराष्ट्रपति पदमा भारतीय-जमैकन मुलकी कमला ह्यारिसलाई उम्मेदवार बनाएका थिए । अब राष्ट्रपतिमा बाइडेन विजयी भएसँगै कमलाले पनि अमेरिकी राजनीतिमा नयाँ इतिहास लेखेकी छन् ।

कमला अमेरिकी उपराष्ट्रपति बन्ने पहिलो अश्वेत, एशियाली-अमेरिकी महिला हुन् । अमेरिकी उपराष्ट्रपति निर्वाचनमा यस अघि दुई महिला उम्मेदवार सारह पालिन (२००८) र गेराल्डीन फेरारो (१९८४) बने पनि उनीहरु ह्वाइटहाउसमा जान भने पाएका थिएनन् ।

को हुन् कमला ह्यारिस ?

५५ वर्षीय कमला अहिले क्यालिफोर्नियाबाट अमेरिकी सिनेटर रहेकी कमलाले डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवार बन्ने दौडमा बाइडेनलाई चुनौती दिएकी थिइन् । राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएपछि नै उनको नाम उपराष्ट्रपती पदका लागि चर्चामा रहेको थियो । उनी क्यालिफोर्नियाको पूर्व महान्यायाधिवक्ता समेत हुन् ।

उनका आमा बुबा अमेरिकामा आप्रवासीको रुपमा अमेरिका गएका थिए , उनकी आमाको जन्म भारतमा भएको हो भने बुबा जमैकन हुन् । कमलाको देवी ह्यारिसको जन्म सन् १९६४, अक्टोबर २० मा ओकल्याण्ड, क्यालिफोर्नियामा भएको हो ।

उनकी आमा श्यामला गोपालन सन् १९६० मा भारतको तमिलनाडुबाट उच्च शिक्षाको लागि अमेरिका गएकी थिइन्, उनी स्तन क्यान्सरसम्बन्धि वैज्ञानिक हुन् । कमलाको बुबा स्ट्यानफोर्ड विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् । भारतीय-जमैकन मुलकी कमला आफुलाई अमेरिकनको रुपमा परिचित गराउछिन् ।

ह्यारिसको एक बहिनी छिन् उनको नाम माया ह्यारिस हो । उनी बाल्यकालमा दुवै चर्च र हिन्दु मन्दिर जाने गर्थिन् । उनले अध्ययन गरेको विद्यालयमा ९५ प्रतिशत गोरा जातिका मानिस थिए, उनलाई कोटा पुरा गर्नको लागि बर्कली विद्यालयमा भर्ना दिइएको थियो ।

उनी सात वर्षको हुँदा आमाबुबाको डिभोर्स भयो र  उनी छुट्टिको समयमा आफ्नो बुबालाई भेट्न जाने गर्थिन् । उनी कालो वर्णको भएको कारण अन्य अभिभावकले आफ्ना बालबालिकालाई उनीसँग खेल्न रोक लगाउने गर्दथे । उनी १२ वर्षको हुँदा आफ्नो आमासँग क्यानाडा गईन्, त्यहाँ उनि वेस्ट मन्ट हाइस्कुलको लोकप्रिय विद्यार्थी थिइन् । उनले आफ्नो क्यूबेक स्नातक त्यहि विद्यालयबाट पुरा गरिन् ।

उनले आफ्नो उच्च शिक्षा हावार्ड विश्वविध्यालयबाट पुरा गरेकी हुन् । सन् १९८६ मा वाशिंगटन, डीसी मा रहेको हावार्ड विश्वविद्यालयबाट उनले पोलिटिकल साइन्स र इकोनोमिकबाट स्नातकोत्तर पुरा गरिन् ।

त्यहाँको अनुभव आफ्नो व्यक्तिव विकासमा महत्पूर्ण भुमिका रहेको बताएकी छिन् ।

त्यसपछि उनले क्यालिफोर्नियाको सिनेटर एलन क्र्यानस्टनमा इन्टर्नको रुपमा काम शुरु गरिन् । सन् १९८९ मा उनले क्यालिफोर्नियाको हास्टिंग कलेज अफ ल बाट पीएचडी पुरा गरिन् ।

सन् १९९० मा उनले बारको परिक्षा पास गरिन् र स्टेट बार अफ क्यालिफोर्नियामा भर्ना भईन् । त्यसपछि उनले अलामेदा काउन्टी प्रोसिक्यूटर कार्यालयमा काम गर्न शुरु गरिन् ।

उनले त्यहाँ ओकल्याण्डको सेक्स अपराधको विषयमा सहायक अभिवक्ताको रुपमा काम गरिन् । उनि आफ्नो करियरमा परिवारले निकै सहयोग गरेको बताउँछिन् ।

उनी अधिवक्ताहरुको नराम्रो छवि नरहेको कारण आफुले पुरै प्रणालीलाई सुधार्न लक्ष्य लिएको बताएकी थिइन् ।

सन् १९९४ मा उनको क्यालिफोर्नियाका नेता तथा राज्य विधानसभाका प्रवक्ता विलि ब्राउनसँग प्रेम सम्बन्ध रहेको थियो  । विलि उनी भन्दा ३० वर्ष जेठो थिए ।

ब्राउनको सहयोगमा ह्यारिस क्यालिफोर्नियाको बेरोजगार विमा योजना तथा स्वास्थ्य निकायको सहयोगीको रुपमा नियुक्त भइन् । त्यहाँबाट उनलाई अधिवक्ताको तलब सहित ८० हजार अमेरिकी डलर दिएको थियो ।

सन् १९९५ मा ब्राउन सान फ्रान्सिस्कोका मेयरमा निर्वाचित भए तर डिसेम्बरमा ह्यारिस र ब्राउनको सम्बन्ध टुंगियो । सान फ्रान्सिस्को जिल्ला अघिवक्ता बनेपछि उनले शहरको कीशोरीहरुलाई देहव्यापारको मुद्धा जितेकी थिइन् । उनले महिलालाई पिडितको रुपमा रहेको र देहव्यापार गर्ने अपराधी नभएको वकालत गेरको थिइन् ।

त्यस समयमा उनको उच्च अधिकारीहरुसँग राम्रो सम्बन्ध कायम भयो । सन् २००३ को उनको पहिलो अभियानमा उनीहरुले आर्थिक सहयोग गरेका थिए । उनले रनअफमा ५६.५ प्रतिशत मत सहित विजयी भइन् । उनको जितसँगै उनी क्यालिफोर्नियाको पहिलो कालाजातिको महिला जिल्ला अधीवक्ता भइन् ।

सोहि चुनावमा उनको पुर्वप्रेमी विलि ब्राउनलाई पछि पार्दै गेभिन न्युसम क्यालिफोर्नियाको मेयर भए । न्युसम कमलाको मिल्ने साथी हुन् र अहिले उनी क्यालिफोर्नियाका गभर्नर रहेका छन् ।

उनको पहिलो तीन वर्षको कार्यकालमा दोषीलाई सजाय हुने दर ५२ प्रतिशत बाट ६७ प्रतिशतमा पुग्यो ।

सन् २००४ मा उनको अहिलेसम्मको सबै भन्दा विवादित निर्णय थियो । उनले सान फ्रान्सिस्कोमा हत्या गरिएका प्रहरी आइज्याक एस्पिनोजाको दोषीलाई मृत्युदण्ड नदिने निर्णय गरेकी थिइन् ।

उक्त प्रहरीको अन्तिम बिदाईको क्रममा सांसद डेनिन फेन्सटिनले उनको निर्णय प्रति आलोचना गरेका थिए । त्यस समयमा फेन्सटिन सयौं प्रहरीको सलामी दिने ठाउँको अगाडी रहेका थिए  ।

एकपटक उनी अभिवक्ताको रुपमा काम गर्दा एक विशेषज्ञले डीए ल्याबबाट कोकेन चोरेको मुद्धाले उनि अप्ठ्यारोमा परेकी थिइन् । प्रमाणको गलत प्रयोग भएको र उनले त्यस कुरा डिफेन्सलाई भन्न बिर्सेको कारण हजारौं ड्रग्स सम्बन्धि मुद्धा छाड्नुपरको थियो । उनले सन् २००४ मा पुर्व अमेरिकी राष्ट्रपति बाराक ओबामालाई राष्ट्रपति चुनावमा सहयोग गरेकी थिइन् ।

कतिपय अधिवक्ताहरुले उनलाई प्रहरीको अत्याचारको विषयमा केहि नगरेको आरोप लगाएका छन् उनले सन् २०१४ र २०१५ मा प्रहरी द्वारा दुई काला जातिका मानिसको हत्या गरिएको विषयमा अनुसन्धान गर्न अस्वीकार गरेकी थिइन् ।

सन् २०१३ मा राष्ट्रपति बाराक ओबामाले उनलाई देशको सबै भन्दा राम्रो महान्यायाधिवक्ता रहेको बताएका थिए । पछि आलोचकहरुले त्यो असमानता भएको बताएपछि उनले माफी मागेका थिए ।

ओबामाको समयमा उनलाई सर्वोच्च अदालतको लागि सिफारिस गरिने बताइएको थियो तर कमलाले पछि आफुलाई त्यसमा चासो नभएको बताएकी थिइन् ।

सन् २०१४ मा उनले कर्पोरेट अभिवक्ता डग एमहफसँग विवाह गरिन् । एमहफको पहिलाको श्रीमतीबाट दुईजना बच्चा छन् । उनीहरु ह्यारिसलाई ‘मोमाला’ भनेर सम्बोधन गर्दछन्  । 

उनले सन् २०१६ मा अमेरिकाको सिनेटमा चुनाव जितिन् उनले २० वर्षको राजनीतिक अनुभव भएकी डेमोक्रेट लोरेट्टा सान्च्जलाई हराएकी थिइन् ।

सन् २०१७ मा उनले महाधिवक्ता जेफ सेसन्सलाई रसिया अनुसन्धानको विषयमा प्रश्न गरेपछि भाइरल भएकी थिइन् । उनले सन् २०१९ मा आर्थिक कमजोरी र कम पोल नम्बरको कारण आफ्नो राष्ट्रपति चुनावको अभियान अन्त्य गरेकी थिइन् । उनी आफुलाई एक कडा स्वभाव भएको व्यक्तिको रुपमा बताउछिन् ।

(एजेन्सीहरुको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *